मोरङ — लेटाङ नगरपालिका–२ स्कुलचोककी १२ वर्षीय (केही स्रोतअनुसार १३) अंशु गौतमको हत्या आरोपमा प्रहरीले छिमेकी ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनलाई शुक्रबार लेटाङ–२ को फडानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
अंशु असोज २१ गते दिउँसो २ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। लामो खोजतलासपछि कात्तिक ७ गते बेलबारी–चिसाङ सामुदायिक वनमा
शरीरका विभिन्न भाग छुट्टाछुट्टै,
क्षतविक्षत र सडेको अवस्थामा,
झाडीभित्र फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
परिवारले घटनास्थलमा भेटिएका कपडा, हाफ पाइन्ट, चप्पल र घडीको आधारमा शव अंशुको नै भएको पुष्टि गरेका थिए। शव अत्यधिक सडेको भएकाले अनुसन्धान जटिल बनेको प्रहरी अधिकारीहरूले बताएका छन्।
घटना सार्वजनिक भएपछि प्रहरीले
३००+ व्यक्तिको बयान,
प्राविधिक डेटा विश्लेषण,
स्थल निरीक्षण,
आसपासका व्यक्तिहरूको पृष्ठभूमि जाँच,
मोबाइल लोकेशन ट्र्याकिङ,
शंकास्पद व्यक्तिहरूको गतिविधि निगरानी
लगायतका विस्तृत अनुसन्धानहरू अगाडि बढाएको थियो।
यस क्रममा पदम अधिकारी घटना भएको केही दिनपछि भारत गएको पुष्टि भएपछि प्रहरीको शंका अझ प्रबल बनेको थियो।
भारतबाट फर्किएलगत्तै प्रहरीले उनलाई घरबाट नियन्त्रणमा लिएको हो।
अधिकारिकरूपमा प्रहरी मुख्यालयले सार्वजनिक घोषणा नगरे पनि प्रहरी स्रोतका अनुसार
पदम अधिकारीले प्रारम्भिक सोधपुछमै अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन्।
प्रहरी अनुसन्धानका अनुसार घटनाको दिन अंशु आफ्नी साथीसँग खेल्दै थिइन् । सोही समयमा छिमेकी पदमबहादुर त्यहाँ आइपुगे । उनको मनमा पाप पलाइसकेको थियो । उनले अंशुसँगै रहेकी अर्की बालिकालाई ५ रुपैयाँ दिएर ‘जाउ, चकलेट खानु’ भन्दै त्यहाँबाट खेदाए ।
Shivam Cement
साथी गएपछि एक्लिएकी अंशुलाई उनले जङ्गलमा घाँस काट्न सघाए मोबाइल चलाउन दिने भन्दै प्रलोभन देखाएर फकाए । अबोध बालिका छिमेकी बाजेको विश्वासमा परिन् । पदमबहादुरले उनलाई साइकलको पछाडि राखेर गाउँबाट करिब साढे ४ किलोमिटर टाढा सुनसान जङ्गलमा पु-याए ।
Nabil bank
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार जङ्गलको बिचमा पुगेपछि पदमबहादुरले आफ्नो असली रूप देखाए । उनले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरे । बालिकाले प्रतिवाद गरिन्, चिच्याउन खोजिन् । पोल खुल्ने डरले पदमबहादुरले क्रूरताको हद पार गरे ।
सुरुमा उनले बालिकाको घाँटी थिचे । बालिका अचेत भइन्, तर सास चलिरहेकै थियो । मरेको सुनिश्चित गर्न उनले आफूसँगै घाँस काट्न लगेको हँसिया (खुर्पा) ले बालिकाको घाँटी रेटिदिए । टाउको र जिउ अलग हुने गरी रेटेर शवलाई त्यही झाडीमा छोडी रगत लतपतिएको हँसिया र घाँस बोकेर उनी सामान्य मानिस झैँ घर फर्किए ।
घटनापछि पदमबहादुरको अभिनय कुनै चलचित्रको खलनायकभन्दा कम थिएन । गाउँमा हल्लाखल्ला भयो । अंशुका बुबाआमा रोइकराइ गर्न थाले । पदमबहादुर पनि उनीहरूसँगै उभिएर ‘मेरी छोरीजस्तै थिइ, म पनि खोज्छु’ भन्दै गाउँले र प्रहरीसँगै जङ्गल चहार्न थाले ।
कात्तिक ७ गते जब जङ्गलमा अंशुको सडेको शव र छरिएका कपडाहरू फेला प-यो, त्यतिबेला पनि उनी घटनास्थलमै रमिते बनेर उभिएका थिए । प्रहरीलाई सुरुमा उनीमाथि शंका गर्ने कुनै आधार थिएन ।
जिल्ला प्रहरी कार्यालय मोरङले यो घटनालाई गम्भीरतापूर्वक लिँदै ‘अपरेसन जग’ नाम दिएर सीआईबी र प्रदेश प्रहरीसहितको टोली परिचालन ग-यो । प्रहरीले ३०० भन्दा बढी मानिससँग सोधपुछ ग-यो, १६ जनाको पोलिग्राफ टेस्ट ग-यो ।
अनुसन्धानले त्यतिबेला नयाँ मोड लियो, जब जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते छुटे । छोरा आएको भोलिपल्टै कात्तिक १९ गते पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालयतिर भागे । यही विन्दु नै प्रहरीका लागि मुख्य ‘क्लु’ बन्यो ।
प्रहरीले निकै चलाखीपूर्ण ढंगले आफन्त र छिमेकीमार्फत उनलाई नेपाल झिकाउने वातावरण बनायो । भारतमा लुकेर गाई फार्ममा काम गरिरहेका पदमबहादुरलाई पनि शान्ति मिलेको थिएन । प्रहरीलाई दिएको बयानमा उनले स्वीकार गरेका छन्, ‘गाई दुहुँदा बाल्टिनमा दुधको साटो रगत देखेजस्तो लाग्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो ।’
यही मानसिक तनाव र प्रहरीको रणनीतिका कारण उनी नेपाल फर्किए र पक्राउ परे ।
कक्षा ५ मा पढ्ने कलिली अंशुको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान परिवारले लिएको थियो । जसका कारण ४५ दिनदेखि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
जिल्ला अदालत मोरङले पदम अधिकारीविरुद्ध कृत्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।
उनी आर्थिक रूपमा कमजोर परिवारबाट भएको वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए।
उनका अनुसार घटनास्थलका सङ्केत हेर्दा बलात्कारपछि हत्या भएको अनुमान गर्न सकिने देखिएको छ, तर आधिकारिक पुष्टि भइसकेको छैन।






