मोरङको बेलबारी नगरपालिका–२ मा एक हृदयविदारक घटना भएको छ। आफ्नै भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि ७७ वर्षीया ईन्द्रमाया राईको मृत्यु भएको छ भने उनका ७० वर्षीय पति भक्तबहादुर राई गम्भीर अवस्थामा उपचाररत छन्।
प्रहरीका अनुसार घटना शनिबार दिउँसो ३ बजे भएको हो।
स्थानीयले खोला नजिक भक्तबहादुर राईलाई बेहोस अवस्थामा फेला पारे। उनलाई घर ल्याउँदा, घरभित्र श्रीमती ईन्द्रमाया राई पनि बेहोस अवस्थामा भेटिइन्।
घरको आँगनमा ३ वटा कुखुरा मरेको अवस्था देखियो, जसले विष सेवनको आशंका झन तीव्र बनायो।
वृद्ध दम्पतीलाई तत्काल नोबेल मेडिकल कलेज बिराटनगर पुर्याइयो।
तर, उपचारका क्रममा ईन्द्रमाया राईको राति मृत्यु भयो। भक्तबहादुर राईको अवस्था अहिले पनि गम्भीर छ।
प्रहरीले घटनामा संलग्न भन्दै ३२ वर्षीया सुनिता कार्की (भतिजी बुहारी) लाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार:
उनले खानामा विष मिसाएको स्वीकार गरेकी छन्।
विष मिसाएपछि बट्टा अँगेनामा डढाएको बताएकी छन्।
प्रहरीले जलेको विषको बट्टा समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद कारण रहेको देखिएको छ।
सुनिता कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ र
प्रहरीले म्याद थप गर्दै थप अनुसन्धान अघि बढाइरहेको छ।






