हेटौँडा – सडक डिभिजन हेटौँडाले मंसिर ५ गते जारी गरेको १५ दिने सूचना सकिएपछि शुक्रबार बिहानै सडक विस्तारका लागि घर–टहरा हटाउन थालेको छ। डिभिजनले सुरक्षा व्यवस्था, जनशक्ति र आवश्यक मेसिनरीसहित राप्तीरोड आसपासका संरचना भत्काउने काम सुरु गरेको हो।
हेटौँडामा २०३४ सालदेखि पटक–पटक सडक विस्तारको प्रयास भए पनि स्थानीय विवाद, राजनीतिक चासो र सरोकारवालाको दबाबका कारण काम अघि बढ्न नसकेका थिए। यसपटक पनि रास्वपाकी समानुपातिक निवर्तमान सांसद विन्दबासिनी कंसाकारलगायत केही व्यक्तिका घर नहटाउनुपर्ने भन्दै सरोकारवालाले सडक डिभिजनलाई मंसिर २६ गते छलफलमा बस्न आग्रह गरेका थिए।
तर, सडक डिभिजनले शुक्रबार दिउँसो ३ बजेसम्म कुनै औपचारिक पत्र नआएको भन्दै “सडक विस्तार नरोकिने” स्पष्ट पारेको थियो।
कुन–कुन क्षेत्रमा विस्तार सुरु?
रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म
बुद्धचोकबाट सामरी पुलसम्म
दुवै खण्डमा २५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने काम अघि बढाइएको डिभिजनले जनाएको छ।
सडक विस्तारका कारण हेटौँडाको मुख्य राजमार्गमा आवागमन केही समय अवरुद्ध हुने भएकाले डिभिजनले वैकल्पिक मार्गमार्फत ट्राफिक व्यवस्थापन गरिएको जानकारी दिएको छ।
कसैले दशकौंदेखि रोकिएको काम सुरु भएको भन्दै स्वागत गरेका छन् भने केही घरधनीले एकतर्फी निर्णय भन्दै आपत्ति जनाएका छन्। सडक डिभिजनका अधिकारीहरुले भने,
“सूचना अनुसारको प्रक्रिया पूरा भएकाले कानूनी रूपमा काम अघि बढाइएको हो।”






