धरानका मेयर तथा श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङले आफ्ना राजनीतिक कार्यक्रमलाई लक्षित गरी योजनाबद्ध रूपमा विद्युत् आपूर्ति बन्द गरिने गरेको आरोप लगाएका छन्। संगठन विस्तारका क्रममा विभिन्न जिल्लामा सभा–समारोह गर्दै आएका साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि त्यसका लागि प्रत्यक्ष दोषारोपण गरेका छन्।
साम्पाङले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै आफू पुगेको स्थानमा बारम्बार लाइन काटिनु “सामान्य संयोग होइन” भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, “कुलमान घिसिङ जी! भोजपुर गएँ लाइन काटिदिनु भयो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भयो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भयो। अब हेटौँडा जाँदैछु, त्यहाँ पनि काटिदिनु है! MCC लाई खुसी बनाउनु, प्रभु शक्तिलाई रमाइलो पार्नु!”
हर्क साम्पाङले दर्ता गरेको श्रम संस्कृति पार्टी हाल विभिन्न प्रदेशमा सक्रिय रूपमा सभा र संगठन विस्तारमा लागेको छ। साम्पाङका अनुसार विद्युत् अवरोधले जनसभा प्रभावित भइरहेका छन्।
ऊर्जा मन्त्रालय र मन्त्री कुलमान घिसिङतर्फबाट भने साम्पाङको आरोपबारे कुनै प्रतिक्रिया आएको छैन।






