स्याङ्जा — पुतलीबजार नगरपालिका–७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार अभियुक्त ६९ वर्षीय हुमबहादुर शाही पुनः पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका शाहीलाई उच्च अदालत पोखराको आदेशपछि फेरि पक्राउ गरिएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत साउन ६ गते बारीमा सुन्तलाको बिरुवा रोपिरहेका ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएपछि घटनाको छानबिन अघि बढेको थियो। प्रारम्भिक अनुसन्धानमै शाहीको संलग्नता पाइएको भन्दै प्रहरीले साउन ८ गते राति उनलाई तनहुँबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा शाहीले पुतलीबजार–७ कै एउटा घरमा लुकाइ राखेको एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो। भदौ ३ गते जिल्ला अदालत स्याङ्जाले धरौटीमा छोडे पनि, उच्च अदालत पोखराले थप कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।
उच्च अदालतको निर्देशनअनुसार मंसिर १४ गते प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीको नेतृत्वमा खटिएको टोलीले शाहीलाई पुनः पक्राउ गरेको हो।
जिल्ला अदालत स्याङ्जाले शाहीलाई ज्यान मार्ने उद्योग अभियोगमा पुर्पक्षका लागि स्याङ्जा कारागार चलान गर्ने आदेश दिएको छ।
