काठमाडौं । पत्रकार गौरव पौडेलले लगातार १०० घण्टा अन्तर्वार्ता सञ्चालन गरी विश्वरेकर्ड बनाउने घोषणा गरेका छन् । उनले पुस १ गतेदेखि अन्तर्वार्ता म्याराथन सुरू गर्ने जानकारी दिएका हुन् ।
यसअघि पत्रकार रवि लामिछानेले ६२ घण्टाको निरन्तर अन्तर्वार्ता सञ्चालन गरी विश्वकिर्तिमान राखेका थिए । तर, सो रेकर्ड पछि विदेशी नागरिकले तोडेका थिए ।
सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्ड टेलिभिजन टक–शो लगातार होस्ट गर्दै लामिछानेको रेकर्ड तोडेका थिए ।
अब सोही रेकर्ड फिर्ता नेपालमा ल्याउने उद्देश्यसहित आफू अगाडि बढेको पत्रकार पौडेलले बताए ।
“मैले लगातार १०० घण्टा— चार दिन चार रात— विभिन्न विशिष्ट व्यक्तित्वसँग अन्तर्वार्ता लिनेछु,” पौडेलले भने ।
उनका अनुसार अन्तर्वार्तामा जेन–जी पुस्तादेखि कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमी, मनोवैज्ञानिक तथा सामाजिक अभियन्ता सम्मका व्यक्तित्वको सहभागिता सुनिश्चित गरिनेछ । नेपालमा पहिलोपटक प्रोफेसनल टेलिभिजन सेटअपमा यति लामो र बिना रोकावट चल्ने अन्तर्वार्ता म्याराथन आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
कार्यक्रमका लागि प्राविधिक सहयोग, प्रसारण तयारी, स्वास्थ्य सुरक्षा व्यवस्था, तथा मनोवैज्ञानिक काउन्सिलिङ समेतको सम्पूर्ण तयारी गरिएको बताइएछ ।
“यो केवल विश्व रेकर्ड फर्काउने मिसन मात्र होइन, नेपाली पत्रकारिताको क्षमता, धैर्यता र पेशागत लगनलाई विश्वसामु पुनः प्रमाणित गर्ने उद्देश्य हो,” पौडेलले भने ।






