नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुंगाको महाधिवेशन प्रतिनिधि रद्द गरेको छ। इश्वर पोखरेल पक्षले क्लिनस्विप गरेपछि प्रतिनिधि छनोट प्रक्रिया विधि र निर्देशनविपरीत भएको भन्दै केन्द्रले त्यसलाई अस्वीकार गर्दै पत्र पठाएको हो ।

एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबरजस्ती प्रतिनिधि छनोट गरिएको उल्लेख छ।

कोशी प्रदेशका पूर्वमन्त्री समेत रहेका अमिर बाबू गुरूङ पक्षका सबै जना प्रतिनिधि छनोट भएपछि केन्द्रले एक्सन लिएको एमालेकै नेताहरूले बताएका छन् । गुरूङ इश्वर पोखरेल पक्षमा खुलिसकेका छन् । संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि नपरेपछि एमाले एक्सनमा उत्रिएको नेताहरूले बताएका छन् ।

प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न गरिएको भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा स्पष्ट पारिएको छ।

केन्द्रले जिल्ला कमिटी ओखलढुंगालाई पत्र काट्दै प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको व्यवस्थापन गरेर पाँच दिनभित्र पुनः निर्वाचन गर्न कडा निर्देशन दिएको छ।

पुनः निर्वाचन प्रक्रियालाई निष्पक्ष, सहज र विवादरहित बनाउन केन्द्रले शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेको छ।

जसअनुसार प्रदेश ईञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई निर्वाचन प्रक्रियामा सहयोग र सहजीकरण गर्न तोकिएको जानकारी केन्द्रीय कार्यालयले गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय