काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वर्तमान केन्द्रीय कार्यसमितिको समयावधि माघसम्म थप गर्ने निर्णय पनि गरेको हो।
असोज २८ देखि चलिरहेको कांग्रेस केन्द्रीय समितिको बैठक महाधिवेशन मिति टुंगोमा नआएर पटक–पटक स्थगित हुँदै आएको थियो। लामो समयको खिचातानीपछि संस्थापन पक्ष पनि पुसभित्र नै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेपछि आज बैठक बसेको हो।
यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेपछि असन्तुष्ट नेताहरू—पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौला लगायत—सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका थिए।
देउवाले नेताहरूलाई खड्काले ल्याइएको प्रस्तावमा सहमति जनाएर अघि बढ्न निर्देशन दिएपछि नेताहरू सहमत भएका हुन्।
आजको बैठकमार्फत कांग्रेसले लामो समयदेखि अड्किएको १५ औं महाधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरेको छ।






