काठमाडौँ। सुटिङ तथा विदेश सेटल गराइदिने भन्दै प्रलोभन देखाएर सर्वसाधारण र कलाकारबाट लाखौँ उठाएको आरोपमा तीन फिल्म निर्माता तथा निर्देशकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा दायर गरिएको छ।
अदालतमा दायर मुद्दाअनुसार, निर्देशक शंकर घिमिरेले अमेरिकाको भिसा लगाइदिने भन्दै करिब १५ लाख रुपैयाँ ठगे,भने ‘सञ्जीवनी’ फिल्मका निर्माता आशीर्वाद सुवेदी र निर्देशक दिनेश श्रेष्ठको समूहले क्यानडा लैजाने बहानामा ४७ लाख रुपैयाँ लिएको पाइएको छ।
राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी मोहन विश्वकर्माले निर्देशक घिमिरेविरुद्ध ठगी तथा लिखितसम्बन्धी मुद्दा दायर गरेका छन्।
अभियोगपत्र अनुसार—घिमिरेले विश्वकर्मा परिवारलाई अमेरिका लैजाने, त्यहाँ सहजै भिसा मिलाइदिने र सेटल गराइदिने भन्दै विश्वासमा पारे।
उनले खेलकुद परिषद्को लेटरप्याड र हस्ताक्षरसमेत किर्ते गरेको आरोप छ।
घिमिरे र उनका सहकर्मी बन्दिता शर्मा दाहालले मिलेर दुई वर्षको अवधिमा किस्ताबार १५ लाख रुपैयाँ लिएको पीडितको दाबी छ।
विश्वकर्माले दिएको बयानमा भनिएको छ—“उनी मेरो परिवारको सम्पूर्ण विवरण लिएर बारम्बार घरमा आउँथे। अमेरिका जाँदै–आउँदै गर्ने, भिसा सहजै लाग्ने, श्रीमतीलाई नोकरी मिल्ने भन्दै प्रलोभन दिए।”
घिमिरेविरुद्ध यसअघि पनि ‘तेलभिसा’ फिल्म रिलिजका बेला आफन्तहरूले अमेरिका लैजाने नाममा पैसा उठाएको भन्दै उजुरी दिएका थिए, जुन आपसी सहमतिमा टुंगिएको थियो।
अर्को मुद्दामा ‘सञ्जीवनी’ फिल्मका निर्माता आशीर्वाद सुवेदी र निर्देशक दिनेश श्रेष्ठ, साथै उनीहरूको टिमका मिना शाही र प्रवीणराज भण्डारीमाथि क्यानडा लैजाने भनी ठगी गरेको आरोप दर्ता भएको छ।
मुद्दादारकोरूपमा—
कोरियोग्राफर विक्रमबहादुर स्वाँर,
नेत्र परियार,
कुलबहादुर तामाङ,
चेतराज जोशी,
पुष्कर विष्ट
रहेका छन्।
अभियोगपत्र अनुसार—
‘सञ्जीवनी’को सुटिङका लागि क्यानडा लैजाने,
कोरियोग्राफी गराउने अवसर दिने,
आवश्यक डकुमेन्ट मिलाइदिने भन्दै उनीहरूबाट किस्ताबार ४७ लाख उठाइएको उल्लेख छ।






