काठमाडौँ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। शुक्रबार बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।
रास्वपा स्रोतका अनुसार पोखरेललाई अनुशासन आयोगमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी भइरहेको छ।
पोखरेल नेपाल प्रहरीमा लामो समय वरिष्ठताका आधारमा आइजीपीका प्रमुख दाबेदार मानिन्थे।
तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको थियो। सिंहको नियुक्तिलाई लिएर २० करोड रुपैयाँभन्दा बढी ‘लॉबिङ’ चलाएको आरोप समेत सार्वजनिक रूपमा चर्चामा आएको थियो।
यस निर्णयलाई अन्यायपूर्ण बताउँदै पोखरेल सर्वोच्च अदालत पुगेका थिए।
तर अदालतले आदेश नदिएपछि उनले २०७९ साउन २ गते एआइजी पदबाट राजीनामा दिए।
यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई डीआइजीबाट एक्लै एआइजी बढुवा गरेको थियो। आइजीपी नियुक्तिमा बाह्य हस्तक्षेप र सौदाबाजी भएको आरोप पोखरेलले समय–समयमा सार्वजनिक रूपमा उल्लेख गरेका छन्।
उनले आरजु देउवाको नजिकका व्यक्तिहरूले रकम माग्दै बार्गेनिङ गरेको दाबीसमेत गरेका थिए।
ओखलढुंगामा जन्मिएका पोखरेललाई तत्कालीन सरकारले ईश्वर पोखरेलसँगको नाता जोडेर पूर्वाग्रह गरेको आरोप पनि परेको थियो।
रास्वपामा प्रवेशसँगै पोखरेल आगामी निर्वाचनमा ओखलढुंगाबाट उम्मेदवार बन्न सक्ने अनुमान गरिएको छ।
रास्वपाले यतिबेला संगठन विस्तार र नयाँ अनुशासनात्मक संरचना सुदृढ बनाइरहेको अवस्थामा पोखरेललाई जिम्मेवारी दिन लागिएको हो।






