काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एक बच्चाका पिता विशाल खरेलसँग विवाह गर्न लागेको विषयमा उठेका प्रश्नहरूलाई सार्वजनिक रूपमा सम्बोधन गर्दै आफूलाई कुनै पनि प्रकारको आत्मग्लानि नभएको स्पष्ट गरेकी छन्।
इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै साम्राज्ञीले विशालको सन्तानबारे आफूलाई सम्बन्ध शुरु गर्नु पहिले नै जानकारी भएको खुलासा गरेकी छन्। उनका भनाइमा, विशाल विवाहित थिएनन् र छोरा जन्मिएको सम्बन्ध धेरैअघि नै टुटिसकेको थियो।
साम्राज्ञीले लेखेकी छन्, “उनले मलाई स्पष्ट रूपमा भनेका थिए—उनको छोरा धेरै वर्षअगाडि भएको सम्बन्धबाट जन्मिएको हो। उनीहरूले कहिल्यै विवाह गरेका थिएनन्, त्यसैले ‘डिभोर्स’ भन्ने कुरा उठ्दैन।”
सामाजिक सञ्जालमा फैलिएका आरोपप्रति उनी आक्रोशित देखिइन्। “मानिसहरू प्रमाणबिनै सबैभन्दा खराब कुरा विश्वास गर्छन्। तर यसले पुर्याएको सार्वजनिक क्षति कसले बुझ्ने?” उनी लेख्छिन्।
साम्राज्ञीले आफूलाई विशालकी पूर्वप्रेमिकाले निरन्तर ब्ल्याकमेल गर्दै आएको आरोप पनि लगाएकी छन्। उनका अनुसार, उक्त व्यक्तिले आफूलाई धेरैपटक ब्ल्याकमेल गरेकी थिइन् र अहिले पनि विशालसँग पैसाका लागि दबाब दिने कार्य भइरहेकै छ।
“म कहिल्यै उनीसँग संलग्न भइनँ, तर उनले मलाई बारम्बार ब्ल्याकमेल गरिन्। अहिले पनि विशाललाई थप पैसा माग्दै शोषण जारी छ। हामीले गोपनीयता चाहेका थियौँ, तर मानिसहरूले आफ्ना फोहोर हाम्रोमा ल्याएर फाल्दैछन्। यो ‘विच हन्ट’ कहिले रोकिने?” साम्राज्ञीको भनाइ छ।
साम्राज्ञी र विशालबीच केही दिनअघि इन्गेजमेन्ट भएको सार्वजनिक भएको थियो।






