दुर्गा प्रसाईं नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान”मा चन्दा असुली गरेको आरोपमा चार जनालाई कारबाही गरिएको छ।
महाअभियानले जारी गरेको विज्ञप्ति अनुसार, कारबाहीमा परेकामा नागरिक बचाउ महाअभियान नेपालका सचिवालय सदस्य तथा युवा खेलकुद विभाग संयोजक विष्णुजङ्ग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहोरा समावेश छन्। उनीहरूलाई सबै जिम्मेवारीबाट हटाएर निष्काशन गरिएको छ।
साथै सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेतीलाई पनि सबै जिम्मेवारीबाट हटाएर निलम्बन गरिएको महाअभियानले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि कारबाहीमा परेकाहरूले पीडितबाट आर्थिक असुल गर्ने धन्दा चलाएको, सङ्गठनमा गुट बनाएर अराजकता फैलाएको, नागरिकको कागजात जफत गरेर ब्ल्याकमेलिङ गरेको र आर्थिक मोलमोलाइ गरेको बताइएको छ।
महाअभियानले सबै अभियान्ताहरुलाई सचेत गर्दै भनेको छ कि कारबाही गरिएका व्यक्तिहरूसँग कुनै पनि प्रकारको सङ्गत वा गतिविधि नगर्नुहोस् र पीडितहरू उनीहरूसँग फसे महाअभियान जिम्मेवार नहुनेछ।
विज्ञप्ति महाअभियानका विभाग सचिव प्रेमदीप लिम्बू र विभाग प्रमुख प्रेम थापा मगरले संयुक्त हस्ताक्षर गरी जारी गरेका हुन्।






