एक समय राजधानीको चर्चित बाबुराजा रावल अपहरण काण्डमा १२ वर्ष जेल काटेर मुक्त भएका टासी गुरुङ पुनः चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। टासी नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका दुई कार्यकालका केन्द्रीय सदस्य समेत रहिसकेका व्यक्ति हुन्।
मंसिर १ गते साँझ नागार्जुन–३, ठूलो भर्याङमा ४२ वर्षीया सरस्वती तामाङको डेढ तोलाको सुनको सिक्री स्कुटरमै आएका दुई जनाले छिन्त्याएका थिए।
उक्त घटनामा संलग्न रहेको प्रमाण मिलेसँगै प्रहरी वृत्त स्वयम्भूले मंसिर ९ गते राति टासीलाई तारकेश्वर–८, जरङ्खुबाट नियन्त्रणमा लियो।
उनको साथबाट लुटपाटमा प्रयोग भएको स्कुटर, पहिरन, हेल्मेट,सहित पेस्तोल, म्याग्जिन, ६ राउण्ड गोली, खुकुरी,र अन्य गतिविधिमा प्रयोग हुने स्क्रुड्राइभर, टी रेन्ज, आदि बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
टासीसँगै ‘अनिल गुरुङ’ (मान्देव) नामले चिनिने व्यक्ति तथा लुटिएको सिक्री किन्ने सुशील लामा पनि पक्राउ परेका छन्।
अनुसन्धानले टासीको पुरानो आपराधिक पृष्ठभूमि फेरि सतहमा ल्याइदिएको छ।टासी सन् २००८ (२०६५ पुस) मा भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न समूहको सदस्य थिए। अपहरणका नाइके उदय सेट्टी सञ्चालित गिरोहमा ‘सोल्टी’ नामले परिचित टासीले १२ वर्ष जेल र १ लाख ५० हजार जरिवाना तिरेर २०७७ मा छुटेका थिए।
यो अपहरणमा १ करोड ५० लाख रुपैयाँ फिरौती लिएको पुष्टि त्यसैबेला भएको थियो।
जेलपछि राजनीतिक संरक्षण—युवा संघको केन्द्रीय सदस्य जेलबाट मुक्त भएपछि टासी प्रत्यक्ष राजनीतिमा प्रवेश गरे। युवा संघ नेपालका तत्कालीन अध्यक्ष किरण पौडेलको कार्यकालमा र त्यसपछि पनि लगातार दुईपटक केन्द्रीय सदस्य बने।
अनुसन्धान अधिकृतहरूको भनाइ अनुसार,राजनीतिक पृष्ठभूमिको आडमा लमजुङ क्षेत्रमा बालुवा–गिट्टी उत्खनन, ठेक्का–पट्टामा कमिशन लगायत गतिविधिमा उनी सक्रिय थिए।
निकट भविष्यमा उनी एमालेको खेलकुद विभागमा समेत सिफारिस हुन आँटेका बेला प्रहरीको हातमा परेका हुन्।
टासीको कोठाबाट बरामद अटो पेस्तोलबारे प्रारम्भमा प्रहरीले ‘जनआन्दोलनको बेला लुटिएको हतियार’ हुन सक्ने आशंका गरे।
तर विस्तृत अनुसन्धानपछि उक्त पेस्तोल २०७९ को प्रतिनिधिसभा चुनावअघि भारतबाट खरिद गरेको तथ्य खुलेको अनुसन्धान अधिकृतहरूले बताएका छन्।







