उत्तर प्रदेशको मैनपुरी जिल्लामा भएको एक अनौठो घटनामा विवाह मण्डपमै बेहुला उठेर भागेका छन्। आफ्नी पहिली श्रीमती प्रहरी लिएर विवाहस्थलमै पुगेपछि बेहुला र जन्ती दुलहीबिना नै फर्किएका हुन्। घटना किस्नी प्रहरी चौकी अन्तर्गत सौनासी गाउँमा भएको हो।
आकाश नामका ती बेहुलाको विवाह रोशनी बाल्मिकीसँग हुँदै थियो। विवाहको जन्ती ब्यान्ड–बाजासहित मण्डपमा पुगेका बेला आकाशले ढोकामै पहिली श्रीमती सपना र प्रहरीलाई उभिएको देखेपछि छक्क परे।
सपनाले प्रहरीले भनिन्—
“१४ वर्षअघि आकाशसँग मेरो विवाह भएको थियो। हाम्रो १० वर्षको छोरा छ। सम्बन्धविच्छेद बिना पुनर्विवाह गर्न लागेका छन्।”
उनी हाल नोएडामा निजी क्षेत्रको जागिरमा कार्यरत छन्।
सपनाले फोन गरेर प्रहरी बोलाएपछि विवाह कार्यक्रम रोकियो।
विवाह रोकिएको थाहा पाएलगत्तै आकाश जन्तीसमेत लिएर विवाहस्थलबाट भागे।
प्रहरीले भने बेहुलाका बुबालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ।
दुलही रोशनीका बुबा रामविलास बाल्मिकीले आकाशको परिवारले
“पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको” भन्दै झुट बोल्दा आफूहरू ठगिएको आरोप लगाए।
उनी भन्छन्—
“त्यही आधारमा विवाह पक्का गरेका थियौं। अब विवाह खर्च, उपहार र मानसिक क्षतिको क्षतिपूर्ति चाहिन्छ।”
रोशनीका परिवारले बेहुला र उनका परिवारविरुद्ध प्रहरीमा औपचारिक उजुरी दर्ता गराएका छन्।






