काठमाडौं — वैकल्पिक राजनीतिक शक्तिहरूबीच नयाँ ध्रुवीकरण निर्माण गर्ने प्रयास तीव्र भएको छ। यसका केन्द्रबिन्दु बनेका छन्– काठमाडौं महानगरका मेयर बालेन शाह, रास्वपा नेतृत्व तथा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी। विभिन्न मोर्चाबाट अघि बढिरहेको संवाद अहिले निर्णायक बिन्दुतिर पुगेको संकेत देखिन थालेको छ।

काठमाडौँका मेयर बालेन शाहको जोडबलमा नया जतिलाई एक ठाउँमा ल्याएर पुराना पार्टीलाई धक्का दिन अन्तिम कसरत भैरहेको छ श्रोतले दाबि गरेको छ । श्रोत भन्छ- केहि दिन मै त्यसको नतिजा देख्नुहुनेछ ।

उता रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी, विवेकशील–साझा पार्टीसहित निर्वाचन आयोगमा दर्ता भएका १२ दलसँग घनिष्ठ रूपमा छलफल भइरहेको छ। उनले जेनजीका विभिन्न समूहसँग पनि वैकल्पिक मोर्चा निर्माणका लक्ष्यसहित संवाद चलिरहेको बताए।

रास्वपाको सचिवालय बैठकमा राजनीतिक संवाद समितिका संयोजक एवं उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेसम्मको प्रगति पेस गरेका थिए। वाग्लेको प्रस्तावका आधारमा सचिवालयले आवश्यक सहजीकरण गर्दै छलफललाई अन्तिम चरणमा पुर्‍याउने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिएका छन्।

पुसको पहिलो हप्तासम्म निर्णय गर्ने तयारी

‘हामीले सबै वैकल्पिक शक्तिसँग सहकार्य वा एकता गर्ने नीति लिएका छौँ,’ बुर्लाकोटीले भने, ‘पुसको पहिलो हप्तासम्म निष्कर्षमा पुग्ने गरी राजनीतिक संवाद समितिले नयाँ दलहरूसँग निरन्तर छलफल गरिरहेको छ।’

उनका अनुसार चुनावी सहकार्यबारे काठमाडौं महानगरका मेयर बालेन शाहको समूह, जेनजी अभियन्ता सुदन गुरुङ समूह र कुलमान घिसिङ पक्षसँग पनि सकारात्मक संवाद भइरहेको छ।

उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले पनि रास्वपासँग तालमेल वा एकताबारे ‘धेरै चरणमा छलफल भइसकेको’ पुष्टि गरे।

उनेपा–रास्वपा एक दल बनाउने अन्तिम प्रयास

रास्वपा र उज्यालो नेपाल पार्टीलाई एउटै दलका रूपमा दर्ता गराउने अन्तिम प्रयास जारी रहेको दुवै पार्टीका नेताहरूले बताएका छन्। रास्वपाबाट स्वर्णिम वाग्ले र शिशिर खनाल, उनेपाबाट सूर्य थापा र गणेश घिसिङ तथा स्वयं कुलमान घिसिङ संवादमा सक्रिय छन्।

‘अब बाँकी एक दिनमा ब्रेकथ्रु गर्न सकिन्छ कि भनेर लागेको छ,’ रास्वपाका एक नेताले भने, ‘कुलमानतिर सकारात्मक संकेत छ। काठमाडौं महानगरको टिमसँग पनि छलफल भइरहेको छ।’

पहिले कार्यकारी सभापतिको अडानमा कडाइ देखाएका कुलमान हाल ‘लचक’ हुन थालेको रास्वपाका सचिवालय सदस्यहरू बताउँछन्।

कुलमानलाई चुनावपछि संसदीय दलको नेता बनाउने प्रस्ताव

रास्वपाले कुलमानलाई कार्यकारी सभापति दिन अस्वीकार गरेपछि उनले पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी गठन गरेका थिए। अब भने दुवै पक्षबीच ‘मध्यमार्गी’ प्रस्ताव छलफलमा छ—
कुलमान घिसिङलाई चुनावपछिको संसदीय दलको नेता बनाउने, दुवै पक्षका टिकटमा संयुक्त हस्ताक्षर गर्ने र विश्वास बढाउने संयुक्त मोडेल बनाउने।

उनेपाभित्र पनि सहकार्यतर्फ जाने वातावरण बनेको जनाइएको छ।

चुनाब चिन्ह ‘घण्टी’

उनेपाका एक नेताका अनुसार ‘घण्टी’ चुनाव चिह्नमा दुवै सहमत छन्। पार्टी नाममा ‘उज्यालो नेपाल’ कतै समावेश गर्न सकिनेबारे छलफल जारी छ।
सबैभन्दा जटिल विषय भने जिम्मेवारी बाँडफाँड हो—‘एक–दुई मान्छे व्यवस्थापनले हुने होइन, सम्पूर्ण संरचनामा प्याकेज सहमति चाहिन्छ,’ ती नेताले बताए।

समय थोरै बाँकी रहेको र दबाब बढ्दो भएकाले अन्तिम क्षणमा सहमति बन्नसक्ने सम्भावना नेताहरूले नकारेका छैनन्।

रास्वपाका एक सचिवालय सदस्यका शब्दमा—‘छलफल राम्रो स्पिरिटमा छ। स्वर्णिम वाग्लेसँग पछिल्ला संवादले ब्रेकथ्रुको आशा देखाएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय