अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले भदौ २३ (सेप्टेम्बर ८) मा नेपालमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक र अनावश्यक घातक बल प्रयोग गरेको ठोस निष्कर्ष सार्वजनिक गरेको छ।
शनिबार सार्वजनिक प्रतिवेदनमा एचआरडब्ल्यूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ८ सेप्टेम्बरको गोलीकाण्ड र ९ सेप्टेम्बरको आगजनी–अराजकता दुबै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न आग्रह गरेको छ।
तीन घन्टासम्म अन्धाधुन्द गोली प्रहार
प्रतिवेदन अनुसार,तीन घन्टाको अवधिमा सुरक्षाकर्मीले पटक–पटक अन्धाधुन्ध गोली चलाएका छन्।
राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा डेढ दर्जन युवाको मृत्यु भएको पुष्टि एचआरडब्ल्यूले गरेको छ।
एचआरडब्ल्यूकी एसिया उपनिर्देशक मिनाक्षी गांगुलीले नेपालमा भएको हिंसालाई गम्भीर मानव अधिकार उल्लंघन बताएका छन्।
उनले भनिन्—
“अनुसन्धान स्वतन्त्र र समयसीमा तोकिएको हुनुपर्छ। उल्लंघन गर्ने जो–कसैलाई पनि दण्डबाट जोगाउन हुँदैन।”
९ सेप्टेम्बर : सुरक्षा नियन्त्रण विफल, राज्य संरचनामै आक्रमण
प्रतिवेदन अनुसार,९ सेप्टेम्बरमा भीड नियन्त्रणमा सुरक्षाकर्मी पूर्ण रूपमा असफल देखिए।
प्रदर्शनसँग प्रत्यक्ष सम्बन्ध नभएका समूहहरूले सरकारी भवन, नेता, पत्रकार, विद्यालय, निजी सम्पत्तिमा ठूलो मात्रामा आक्रमण र आगजनी गरे।
दुई दिनको हिंसामा ३ प्रहरीसहित कम्तीमा ७६ जनाको मृत्यु भएको सरकारकै प्रारम्भिक तथ्याङ्क परिचालन गर्दै एचआरडब्ल्यूले उल्लेख गरेको छ।
५२ प्रत्यक्षदर्शीका बयान, भिडियो–तस्बिरका प्रमाण
एडब्ल्यूआरडब्ल्यूले प्रतिवेदन तयार पार्न ५२ जनासहित पीडित, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षा स्रोत, भिडियो–फोटोज,घटनास्थल निरीक्षण आधार बनाएको जनाएको छ। अनुसन्धान काठमाडौं केन्द्रीत रहेको स्पष्ट गरिएको छ।
प्रतिवेदनले देखाएको घटनाक्रम ८ सेप्टेम्बर : गोली प्रहार आवश्यक थिएन
प्रतिवेदनले भन्छःसंसद् भवनवरिपरि जम्मा भएका युवालाई तितरबितर पार्न टाउको, छाती, पेट लक्षित गरि गोली चलाइएको थियो।
प्रहरीको ज्यान जोखिममा नपरेको अवस्थामा घातक बल प्रयोग गर्नु अनावश्यक थियो।
कर्फ्यू सूचना नपुगेकाले धेरै नागरिक अन्जान थिए।
गोली चलाउनुअघि चेतावनी नै नदिएको पुष्टि भएको छ।
दिउँसो १:४० बजे कुनै हिंसात्मक गतिविधि नभएको ठाउँमा २० वर्षीया विद्यार्थीको काँधमा गोली लागेको तथ्य प्रतिवेदनमा छ।
एक प्रदर्शनकारीलाई संसद् परिसरभित्रै ३३ जना प्रहरीले कुटपिट गरी धम्की दिएको विवरण पनि उल्लेख छ।
९ सेप्टेम्बर : प्रहरी चौकी कब्जा, हतियार लुट, नेतामाथि आक्रमण
अगस्त ९ का विवरण:प्रदर्शनकारीले प्रहरी चौकी कब्जा गरी हतियार लुटे।
भीडद्वारा कुटपिटमा ३ प्रहरीको मृत्यु भएको पोस्टमार्टमले पुष्टि।
तत्कालीन प्रधानमन्त्रीलाई हेलिकप्टरबाट उद्धार गर्नुपरेको थियो।
संसद्, राष्ट्रपति भवन, सर्वोच्च अदालत, निजी घर–व्यापारमा व्यापक आगजनी।
जेल तोडफोड गरेर हजारौँ कैदी भागेका थिए।
सुरक्षाकर्मीको उपस्थिति अत्यन्त न्यून देखिएको छ।
एचआरडब्ल्यूले राजनीतिक समूहमध्ये कतिपयको घुसपैठ भएको हुन सक्ने आशंका उल्लेख गरेको छ।
मृतकहरूमा ३५ जनाको मृत्यु टाउको र माथिल्लो भागमा गोली लागेर
काठमाडौंका एक पैथोलोजिस्टलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख छः
परीक्षण गरिएका ४७ शवमध्ये ३५ जनाको मृत्यु टाउको तथा शरीरको माथिल्लो भागमा गोली लागेर भएको हो।
यस्तै,सुरक्षा अधिकारीले अस्पतालभित्रै पसेर लाठीचार्ज गर्दा कर्मचारी घाइते भए।
प्रदर्शनकारीले एम्बुलेन्स र सञ्चारगृहमा आक्रमण गरेको पनि प्रतिवेदनमा छ।
प्रहरी अधिकारीमाथि कारबाही शून्य, ४२३ जनालाई मात्रै पक्राउ
१० नोभेम्बरसम्म ९ सेप्टेम्बरको अराजकता सम्बन्धी ४२३ जना पक्राउ परे।
तर ८ सेप्टेम्बरमा अनावश्यक गोली चलाउने सुरक्षाकर्मीमाथि कुनै कारबाही भएको छैन।
मिनाक्षी गांगुलीले भनिन् “विगतका घटनामा दण्डहीनता कायम रहँदा अहिलेको हिंसा झनै बढेको हो।”






