मिडिया व्यवसायी तथा पत्रकार दिपेन्द्र खनियाँ बानेश्वरस्थित आफ्नै निवासमा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार मध्यान्ह करिब १२ बजे घरको बरन्डा/भर्याङ क्षेत्रको सिलिङमा इन्टरनेट वायर प्रयोग गरेर पासो लगाइएको अवस्थामा उनको शव भेटिएको हो।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। घटनास्थलबाट हालसम्म कुनै सुसाइड नोट फेला परेको छैन र घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खनिया रेडियो अडियो एफएमका सञ्चालक तथा संस्थापक थिए। उनी रेडियो पत्रकारितामा स्थापित नाम मानिन्थे। २०६३ सालदेखि हास्य–व्यंग्य रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका उनी कम्युनिकेशन कर्नर, रेडियो सगरमाथा लगायत मिडिया संस्थामा पनि संलग्न रहेका थिए।
बानेश्वरमा उनी श्रीमती र एक छोरीसँग बस्दै आएका थिए। घटना हुने समय उनका परिवारका सदस्यहरु घरबाहिर रहेको बताइएको छ।
खनियाको परिवार पहिले पनि ठूलो दुर्घटनाबाट गुज्रिएको थियो। उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।
प्रहरीका अनुसार प्रारम्भिक तथ्यहरूका आधारमा आत्महत्याको आशंका गरिएको भए पनि वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र पुष्टि हुने बताइएको छ।






