हालै निर्देशक विशाल भण्डारीका केही तस्बिर र भिडिओहरू सार्वजनिक भएपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सुरक्षा टोली’सँग जोडिएको भन्ने समाचार बाहिरिएको थियो।

यसै विषयमा भण्डारीले आफ्नो व्यक्तिगत स्पष्टीकरण सार्वजनिक गर्दै राजनीतिक रूपमा आफू कसैको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

भण्डारीका अनुसार उनी पछिल्लो समय व्यक्तिगत समस्याका कारण विभिन्न सरकारी निकाय र जिम्मेवार व्यक्तिहरूलाई भेटघाट गर्दै आएका थिए। उनले भने—

“GENZ आन्दोलनपछि पनि त्यही समस्याकै सम्बन्धमा अहिलेका प्रधानमन्त्री तथा गृह मन्त्रालयका साथीहरूसँग पनि निरन्तर सम्पर्कमै छु। धेरै ठाउँमा गएको, धेरैलाई भेटेको तस्बिर मसँग छ। तर व्यक्तिगत कुराकानीका लागि खिचिएको एउटा फोटो अनावश्यक रूपमा भाइरल बनाइएको छ।”

उनले महेश बस्नेतको घरमा भेट भएको तस्वीरलाई राजनीतिक रंग दिन नहुने बताउँदै थपे—

“न त म कुनै राजनीतिक धारमा छु, न त कुनै दल वा समूहको समर्थनमा त्यहाँ गएको थिएँ। सहीलाई सही र गलतलाई गलत भन्नु मेरो सिद्धान्त हो।”

सञ्चारमाध्यममा भने भण्डारी ओलीको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको दाबी गरिएको छ।
समाचारअनुसार सरकारद्वारा केही सुरक्षाकर्मी फिर्ता बोलाएपछि महेश बस्नेतको पहलमा संगठित युवाहरूको समूह बनाउने तयारी भएको र भण्डारी पनि ती भेटघाटहरूमा सहभागी भएको उल्लेख गरिएको छ।

साथै, भण्डारी विगतमा ओलीको समर्थनमा सामाजिक सञ्जालमा लेख्दै आएको, २०७९ मा बालेन साहसँग विवाद भएको, र पछिल्लो समय एमाले गतिविधिमा सक्रिय देखिएको भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय