सोमबार मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ८ कार्यकर्ता पनि प्रहरीले नियन्त्रणमा लिएर स्क्रिनिङ गरिरहेको छ।
प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार, ठूलो भिडभाड र नाराबाजीसहित प्रहरी परिसर पुगेकालाई अराजक गतिविधि वा आपराधिक रेकर्ड छ–छैन भन्ने आधारमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये केहीले सामाजिक सञ्जालमा प्रहरी कार्यालय तोडफोड गरेर भए पनि प्रसाईंलाई निकाल्नुपर्छ भन्ने सामग्री पोस्ट गरेका थिए। उनीहरूको गतिविधि सार्वजनिक शान्ति भंग गर्न सक्ने भन्दै निगरानी बढाइएको छ।
प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले चार दिनको म्याद दिएको छ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय हुँदै प्रशासन कार्यालय लगिँदा उनले –
“म कुन मुद्दामा पक्राउ परेको हो, मलाई थाहा छैन”
भनेर प्रतिक्रिया दिएका थिए।





