धरानका मेयर हर्कराज ‘हर्क’ साम्पाङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिन तयारी अवस्थामा रहेको पुष्टि भएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा भारी बहुमतसहित मेयर जितेका साम्पाङले हालै दर्ता गरिएको श्रम संस्कृति पार्टीको नेतृत्व गर्दै संघीय चुनावमा प्रवेश गर्ने तयारी पूरा गरेका हुन्।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा साम्पाङका निकट सहयोगी समिर तामाङका अनुसार साम्पाङले प्रतिनिधिसभा चुनाव लड्ने निर्णय पक्का भइसकेको छ।
तामाङ भन्छन् —
“शतप्रतिशत लड्नुहुन्छ, उहाँ पूर्ण तयारीमा हुनुहुन्छ।”
त्यस्तै, पार्टीका महासचिव आरएन राईले पनि मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा लड्ने तयारी गरिरहेको पुष्टि गरे।
“परिस्थिति सामान्य रहे अवश्य लड्नुहुन्छ,” राईले भने।
मेयर साम्पाङको टिमका अनुसार उम्मेदवारी दर्ता गर्नु अगाडि साम्पाङले मेयर पदबाट राजीनामा दिने सोचमा छन्।
तामाङ भन्छन् —
“उहाँ उम्मेदवारी दर्ता गर्नुअघि मेयरबाट राजीनामा दिनुहुनेछ। पार्टीले पनि देशभरका सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गर्दैछ।”
२०७९ को स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार साम्पाङले २०,८२१ मत पाएर मेयरमा विजयी भएका थिए।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईले १६,०५९ मत पाएका थिए।
एमालेकी मञ्जु भण्डारी १२,८२५ मतसहित तेस्रो बनेकी थिइन्।
यसअघि २०७६ को उपनिर्वाचनमा साम्पाङले ४२२ मत मात्र पाएका थिए।





