भारतको उत्तर प्रदेश, अमरोहा — विवाहको उत्साह र उल्लासले भरिएको घर एकै रातमै शोकालयमा बदलिएको छ।
शनिबारमात्रै आफ्नी जीवनसाथीलाई घर भित्र्याएका ३८ वर्षीय गुड्डु उर्फ परवेज आलमको विवाहको २४ घन्टा नपुग्दै मृत्यु भएपछि समुदाय स्तब्ध बनेको छ।

जामा मस्जिद रोडमा पुस्तक पसल सञ्चालन गर्दै आएका परवेजले सायमासँग शनिबार राति १ बजे निकाह गरेका थिए। विवाहको उत्सव सम्पन्न भएपछि दुवै जना घर फर्किए।

तर करिब २ बजे राति परवेजलाई अचानक स्वास्थ्य समस्या देखियो। परिवारले हतार–हतार नजिकैको अस्पताल पुर्‍याए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई निजी अस्पताल हुँदै मुरादाबाद रेफर गरियो।

तर दुःखद्, चिकित्सकहरूले परवेजलाई बचाउन सकेनन्।

जीवनसाथीको रूपमा भर्खरै भित्र्याएको पतिको मृत्यु भएको खबरले सायमा बारम्बार बेहोस भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

परवेजका शरीर पहेंलो देखिएको र केही दिनदेखि अस्वस्थ रहेको जानकारी पनि बाहिर आएको छ।
प्राथमिक अनुमानका अनुसार जण्डिस (हेपाटाइटिस) कै कारण उनको मृत्यु भएको हुनसक्ने भनिएको छ।

परवेजका आमा–बुवा र दुवै दाजुको पहिल्यै मृत्यु भइसकेकाले परिवारमा उनी र उनका भाई मात्र थिए। यसैले घरमा लागेको यो अनपेक्षित संकटले परिवारलाई झनै ठूलो आघात पुर्‍याएको छ।

यो घटना अमरोहामा अहिले चर्चाको विषय बनेको छ, जबकि नवविवाहिता सायमा गहिरो शोकमा डुबेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय