मनाङ — ३ कात्तिकदेखि बेपत्ता भारतीय नागरिक जिग्नेसकुमार लल्लुभाई पटेल (५२) र उनकी छोरी प्रियन्साकुमारी पटेल (१७) को शव आइतबार फेला परेको छ। सशस्त्र प्रहरीको उद्धार टोलीले दिउँसो करिब २ बजे उनीहरूलाई हिउँमा पुतीएको अवस्थामा भेटेको हो।
उनीहरू ङिस्याङ गाउँपालिका–४ को ग्याल्सेन होटलमा बसिरहेका थिए र ३ कात्तिकमा मलेरिपा गुम्बा घुम्न निस्किएपछि सम्पर्कविहीन भएका थिए। होटलले जानकारी दिएपछि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयले खोजी सुरु गरेको थियो।
तर प्रारम्भिक खोजीमा फेला नपरेपछि २३ कात्तिकमा डीएसपी हिराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित पुनः टोली खटाइएको थियो।
माउन्टेन रेस्क्यु तालिमप्राप्त उक्त टोलीले गुम्बाबाट करिब एक सय मिटरमाथि हिउँमुनि पुरिएका अवस्थामा उनीहरूलाई भेटेको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरूको मृत्यु चिसो हावा, मौसम र पहाडी क्षेत्रको जोखिमपूर्ण ट्रेलका कारण भएको अनुमान गरिएको छ।





