सुनसरी — धरानस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि केन्द्रका सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
धरान–११, मङ्गलबारेमा रहेको केन्द्रमा उपचाररत खड्गबहादुर राई (३३), तेह्रथुम, मेन्छयायेम गाउँपालिका–६ का थिए। कुटपिटबाट घाइते भएका राईलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइयो, जहाँ गत मंगलबार दिउँसो उनको मृत्यु भएको थियो।
प्रहरीका अनुसार, केन्द्रको सिसीटिभी फुटेजमा मृतकलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले हातखुट्टा चल्न नसक्ने गरी बाँधेर लडाइएको देखिएको थियो।
पक्राउ पर्नेमा सुधारगृह सञ्चालक मणिराज राई (३५, धरान–८), राकेश प्रधान (२५), श्रवण राजधानी (२०), निकेश सुनुवार (४०), सुरेन लिम्बु (४१), हस्तबहादुर विश्वकर्मा (३८), बिरु लिम्बु (३७), सचिन राई (३५) र विजय चौधरी (२७, सुन्दरहरैचा) रहेका छन्।
गत बिहीबार पक्राउ परेका उनीहरूलाई सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषण राईले घटनाको थप विवरण संकलन भइरहेको बताए।





