मैले उसलाई माफी दिने निर्णय गरें । २३ महीना लामो लडाइँपछि थाकेर यो निर्णयमा पुगेकी हुँ । मुद्दा दर्ता गर्नुअघि पनि मलाई जे भयो, त्यो अरू कसैलाई नहोस्/नपरोस् भन्ने मनसाय थियो । शायद मैले नबोलेको भए उसले आफ्नो शक्ति प्रयोग गरेर अरूलाई पनि यस्तै गर्न सक्थ्यो । मैले बोल्ने हिम्मत गरें । मैले आफू जिउँदो छु भन्ने महसूस गर्दासम्म लडिरहें ।
मैले जति भोगें, त्यसको १० प्रतिशत पनि कसैले भोगेको छ भने त्यो नर्कभन्दा नि बढी छ । मैले आफ्नो जीवन बाँच्ने निर्णय लिएकी छु । उनीहरूले करोडौं पटक मेरो खुशी मारे पनि मैले माफ गरिदिएँ । उनीहरू पनि बाँचून् ।
मैले मानसिक स्वास्थ्यको विचार गरेर यो निर्णय लिएकी हुँ । सबै जनाको भाग मैले बाँचिदिनुपर्छ जस्तो लाग्दैन । मैले सुनेकी थिएँ- मेरा लागि पनि मान्छेहरू छन्, तर खासमा मेरा लागि कोही नै थिएन । मैले मेरो लडाइँ एक्लै नै लडेकी हुँ । अन्तिममा आफ्ना लागि हुने भनेको आफू मात्रै रहेछ !
मैले कसैको दबाबमा परेर मुद्दा दर्ता गरेकी होइन । उसले ममाथि जे गर्यो, त्यो गलत थियो । त्यसैले मैले मुद्दा दर्ता गरें । तर जब बीचमा माइती नेपालमा बसें, जीवनका सबैभन्दा अँध्यारा दिनहरू देखें । त्यहाँबाट निस्किंदा नै मैले बाँच्न बिर्सिसकेकी थिएँ ।
अझै पनि म बसेको त्यो कोठाको भित्ताभरि मैले म बाँच्न चाहन्नँ भनेर कोरेका अक्षरहरू होलान् । तर यसको मतलब यो होइन कि मैले मुद्दा दर्ता कसैको दबाबमा गरें । उसले गल्ती गरेको हो, जुन कुरा उसैले पनि स्विकारिसक्यो । यो घटनापछि म मनोचिकित्सकको परामर्शमा छु । यसले मलाई केही हदसम्म सहयोग गरेको छ ।
अब नयाँ समाजमा जाँदै छु । जहाँ मैले कसैले मलाई चिन्लान् भनेर अनुहार लुकाएर बाच्नु पर्दैन । आफ्नो नाम हुँदाहुँदै नाम नै लुकाएर बाच्नुपर्ने कष्टकर जीवन बाँच्नु पर्दैन । अब म आफ्नै नामले बाँच्न पाउँछु ।
म मेरो जीवन फेरि शुरू गर्दै छु । यो कुराबाट छुटेर जाँदै गर्दा मानसिक युद्धसँग पनि बिस्तारै जुध्न कम होला भन्ने सोचेकी छु । आशा छ, सबै ठीक हुनेछ । जीवनभरलाई सहज नभए पनि म सहज जीवनयापन गर्ने कोशिश गरिरहनेछु ।
मलाई थाहा छैन, मेरो जीवनले कता लगिरहेको छ । तर हरेक साता/महीनाको पेशी, पेशी आउनुभन्दा दुई दिनअघिदेखि डर, पेशी सकिएपछिको ट्रमा । म अन्तिम पटक कहिले हाँसेकी थिएँ भन्ने समेत बिर्सिसकें !
यो लडाइँ म बाँचुन्जेल रहने जस्तो लागेर नै रोकिने निर्णय लिएँ । फेरि मान्छे बाँच्नका लागि पो लड्छ । आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ? होइन र ?
अब फेरि साम, दाम, दण्ड, भेद, जे प्रयोग गरेर पनि उसलाई निर्दोष सावित गर्नेछन् । हरेक दिन सामूहिक बलात्कार, एसिड अट्याक जस्ता हजारौं धम्की सहेर मलाई बाँच्नु छैन । अब मसँग गुमाउन बाँकी केही छैन ।
भाग्नलाई जति गाह्रो हुन्छ, शायद दौडिनलाई पनि उति नै गाह्रो हुन्छ । मलाई कसैको जीवन बर्बाद गर्ने न रहर छ न त अधिकार नै । अपराधको सजाय पाओस् भनेर मुद्दा हालेकी थिएँ ।
अब मलाई बाँच्नु छ, त्यसैले पछि सरें । मैले जे भोगें, त्यो कसैले भोग्न नपरोस् । छोरीहरूलाई बाँच्न आफ्नै समाजबाट भाग्न नपरोस् । तर म यो समाजबाट भाग्दै छु । किनकि म थाकें । त्यसैले अब केही दिनमै देश छोड्दै छु ।