जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित एक कन्सल्टेन्सीबाट फेला परेको छ। बरामद भएको स्थान सरल शिक्षा एकेडेमी रहेको प्रहरीले पुष्टि गरेको छ।
शुक्रबार दिउँसो प्रहरी वृत सिंहदरबारबाट खटिएको टोली एकेडेमीमा छापा मार्दै अनुसन्धान अघि बढाएको थियो।
छापामारीकै क्रममा प्रहरीले एउटा प्रिन्टर फेला पारी मुचुल्का उठाएर बरामद गरेको छ।
प्रहरीका अनुसार एकेडेमीका केही कर्मचारीहरूले जेन–जी आन्दोलनका बेला सिंहदरबारबाट सामग्री लिएर ल्याएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार एकेडेमीले प्रहरीको निर्देशनपछि अन्य केही सामग्री यसअघि नै प्रहरी कार्यालयमा बुझाइसकेको थियो।
सरल शिक्षा एकेडेमीकी सञ्चालक उषा भट्ट छापाको बेला उपस्थित थिइन् तर प्रहरीले उनलाई पक्राउ गरेको छैन।
प्रहरीले अहिले कर्मचारीहरूको भूमिकाबारे छुट्टै अनुसन्धान अघि बढाइरहेको छ।
वृत्त प्रमुख डीएसपी जनार्दन घिमिरे भन्छन्—“यसअघि पनि एकेडेमीले एउटा प्रिन्टर फिर्ता गरिसकेको थियो। आज आएको नयाँ सूचनाका आधारमा थप सामग्री छ कि भनेर जाँच गर्न आएका हौं।”
प्रहरीले आवश्यक छानबिन जारी राखेको जनाएको छ।





