सहकारी ठगी प्रकरणमा दोषी ठहर भएका जितेन्द्रबाबु (जिबी) राईको पृष्ठभूमि नै ठगी कामबाट भएको देखिएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले जिबीसँग ठगीको र्दुइ दशक लामो अनुभव रहेको औंल्याएको हो ।
समितिले सोमबार प्रतिनिधिसभामा बुझाएको प्रतिवेदनको पूर्णपाठ संघीय संसद सचिवालयले शुक्रबार बेवसाइटमार्फत सार्वजनिक गरेको छ ।
राई सहकारी ठगीभन्दा पहिला नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलबाट सुरु भएको देखिन्छ । २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको स्थापना गरेर उनी नेटवर्किङ व्यवसायमा लागेका थिए ।
त्यसको दुई वर्षपछि २०६८ सालमा सरकारले उक्त व्यवसायमा प्रतिबन्ध लगाएपछि बिजीले सोही नेटवर्क प्रयोग गरी देशका विभिन्न स्थानमा करिब दर्जन सहकारी सञ्चालनमा ल्याएका थिए ।
सहकारीहरुमा सर्वसाधारणले बचत गरेको रकम गैरकाननूनी रुपमा दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेको प्रतिवेदनले औंल्याएको छ ।
सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपचलन र दुरुपयोग गर्ने एवं सहकारीको बचत रकम गैरकानूनी रूपमा निजी कम्पनी र व्यक्तिको नाममा प्रवाह गर्ने जीबी राई समेतको गिरोह लामो समयदेखि नेटवर्किङ्ग व्यवसायमा रहेका र नेटवर्किङ शैलीमै सहकारी संस्थाहरूको फैलावट र प्रसार गरी हरेक संस्थाबाट रकम अपचलन गर्ने गरेको पाइन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘त्यस्ता सहकारी सञ्चालकहरूले कम्पनीकै शैलीमा सहकारी संस्थाहरूको बिस्तार गर्नुका साथै अरूको नाममा कर्जा खडा गरी आफैंले दुरूपयोग समेत गर्ने गरेको पाइएको छ ।’
नेटवर्किङ र सहकारी ठगीअघि उनी २०५६ सालदेखि २०५८ सालसम्म हङ्कङबाट सञ्चालित गोल्डक्वेष्ट नामको कम्पनीको गैरकानूनी धन्दामा उनको संलग्नता देखिन्छ । उक्त कम्पनीले सुनको सिक्का दिने भन्दै गैरकानूनीरूपमा नेटवर्किङ मार्फत धन्दा गरेको यसअघि नै पुष्टि भइसकेको छ ।
गितेन्द्रबाबु राई (जीबी राई) ले ठगी धन्दा उनकै दाजु अनन्तबाबु रार्यबाट सिकेका थिए । गोल्डक्वेष्टको धन्दामा अनन्तबाबुले नै जिबीलाई प्रवेश गराएका थिए ।
अनन्तले स्वदेशी जडीबुटीजन्य वस्तुको व्यापार गर्ने भन्दै ०६१ सालमा हर्बोसहिक केही अरु नेटवर्किङ कम्पनी स्थापना गरे । उनले आफूलाई संस्थापक निर्देशक र माइलो भाई देबेन्द्रबाबु राई र कान्छो जितेन्द्रबाबुलाई नेटवर्किङ व्यवसायमा लाग्ने, पढ्ने÷पढाउने तथा संगठन बनाएर काम गर्न सुरु गर्छन् । राईले भगवती बम्जनसँग विवाह गर्छन् । भगवतीका बाबु ज्ञानबहादुर बम्जन गोर्खा सेभिङ्गससँग सम्बन्धित व्यक्ति हुन् ।
उनले पोखराको सूर्यदर्शन सहकारीको जिम्मा ज्वाईं जिबीलाई दिन्छन् । हर्बोबाट खासै कमाउन नसकेका जिबीले सूर्यदर्शमा सामान्य कर्मचारीका रुपमा काम थालेका थिए । उनले पछि सो सहकारी आफैंले कब्जा गरे । त्यतिमा मात्र उनी सीमित रहेनन् । देशभर विभिन्न सहकारी खोले र ती सहकारीबाट सर्वसाधारणको करोडौं रकम अपलन गरेर आफूलाई ‘राष्ट्रिय ठग’ का रुपमा चिनाए ।